नाडा अटो शो–२०२६ को तयारी अन्तिम चरणमा, आज भव्य उद्घाटन हुँदै – Sagarmathapana:: Online News Portal

नाडा अटो शो–२०२६ को तयारी अन्तिम चरणमा, आज भव्य उद्घाटन हुँदै

   २०८३ भाद्र ९ गते  

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु हुने १८औँ संस्करणको ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)का अनुसार प्रदर्शनीस्थलमा स्टल निर्माण, मुख्यद्वार निर्माण, विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो।

सोमबार आयोजित प्रेस ब्रिफिङ तथा स्टल निर्माण अवलोकन कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले संस्था स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको यस वर्षको अटो शो विशेष र भव्य हुने बताए।

उनका अनुसार मंगलबार बिहान ९ बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवसहित विशिष्ट पाहुनाको उपस्थितिमा अटो शोको उद्घाटन हुनेछ। शोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी दिनुका साथै विभिन्न दुई तथा चारपांग्रे सवारीका नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने कार्यक्रमसमेत रहेको छ।

नाडाका महासचिव मिलनबाबु मल्लले अवलोकनकर्तालाई सहज र सुरक्षित रूपमा प्रदर्शनी हेर्न सक्नेगरी आवश्यक व्यवस्थापन गरिएको बताए। भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म सञ्चालन हुने शोका लागि प्राविधिक तथा कामदारहरू स्टल निर्माणलाई अन्तिम रूप दिन व्यस्त छन्।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा २०० भन्दा बढी स्टल रहनेछन्। यस संस्करणमा ५३ वटा सवारी ब्रान्डको सहभागिता रहनेछ भने अटो कम्पोनेन्ट्स, एसेसरिज, अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स तथा ग्यारेज उपकरणका लागि करिब ७० वटा छुट्टै स्टल राखिने आयोजकले जनाएको छ।

त्यसैगरी बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ। आयोजकका अनुसार यस वर्षको नाडा अटो शो विगतका संस्करणभन्दा थप प्रविधिमैत्री, व्यवस्थित र आकर्षक बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै