पर्यटन विधेयकमा ट्रेकिङ पर्यटनका लागि छुट्टै अध्याय राख्न TAAN को माग
काठमाडौं।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) ले प्रस्तावित पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउन छुट्टै कानुनी व्यवस्था गर्न माग गरेको छ।
सोमबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति (IRT) को बैठकमा TAAN अध्यक्ष सागर पाण्डेले साहसिक पर्वतीय पर्यटन, ट्रेकिङ तथा पर्वतारोहणसम्बन्धी सुझाव प्रस्तुत गर्दै ट्रेकिङ पर्यटनका लागि ऐनमा छुट्टै अध्याय समावेश गर्न आग्रह गरेका हुन्।

अध्यक्ष पाण्डेले ट्रेकिङ पदमार्गको पहिचान तथा संरक्षण, सरकारी निकायमा दर्ता भएका एजेन्सीमार्फत मात्र ट्रेकिङ तथा साहसिक गतिविधि सञ्चालन र इजाजतप्राप्त गाइडको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिए। साथै ट्रेकर तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको सुरक्षाका लागि बीमा र कल्याणकारी कोषको व्यवस्था गर्न तथा अवैध ट्रेकिङ गतिविधिको निगरानी र नियन्त्रणका लागि प्रभावकारी प्रणाली विकास गर्नुपर्ने सुझाव दिए।

TAAN का अनुसार ट्रेकिङ पर्यटनले विदेशी मुद्रा आर्जन, राजस्व तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नेपालमा करिब ३ लाख अन्तर्राष्ट्रिय पर्यटक र २ लाख सार्क मुलुकका नागरिक ट्रेकिङका लागि आउने गरेको तथा उनीहरू ७ देखि २५ दिनसम्म नेपालमा बस्ने अनुमान गरिएको छ।
ट्रेकिङ करिडोरमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब ५ लाख रोजगारी सिर्जना हुने र सम्भावित विदेशी मुद्रा आम्दानी करिब ६९ अर्ब रुपैयाँ पुग्ने TAAN को दाबी छ। त्यसमध्ये अन्तर्राष्ट्रिय पर्यटकबाट करिब ५४ अर्ब र सार्क मुलुकका पर्यटकबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी हुने अनुमान गरिएको छ।
बैठकमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका सदस्य पेमा शेर्पालगायत नेपाल पर्वतारोहण संघ (NMA), होटल एसोसिएसन अफ नेपाल (HAN), एक्सपिडिसन अपरेटर्स एसोसिएसन (EOA), नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (NNMGA) र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का प्रतिनिधिले पनि प्रस्तावित पर्यटन ऐनबारे सुझाव दिएका थिए।
पर्वतीय पर्यटन क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावको प्रशंसा गर्दै समिति सदस्य डा. धनञ्जय रेग्मी, मिङ्मा डेभिड शेर्पालगायतले जायज माग तथा सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।












