तामाङ ज्ञान–संस्कृति विमर्श : मौलिक ज्ञान र पहिचान पुस्तान्तरणमा जोड

काठमाडौं।संस्कृति मर्मज्ञ ज्याम्याङ लामा र स्वरसम्राट गोपाल योञ्जनको जन्मजयन्तीको अवसरमा आयोजित तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ।
![]()
![]()
नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा तामाङ समुदायको ज्ञान, इतिहास, भाषा, लिपि, साहित्य, संस्कृति तथा अभौतिक सांस्कृतिक सम्पदाका विविध पक्षमाथि विज्ञहरूले कार्यपत्र तथा प्रस्तुति दिएका थिए।


कार्यक्रममा भारतबाट सहभागी डा. चन्द्रा योञ्जनले समाजसेवाका क्षेत्रमा आफूले गर्दै आएको काम तथा भारत सरकारबाट प्राप्त सम्मानबारे अनुभव साझा गर्नुभयो। तामाङ विज्ञ तथा मानवशास्त्री डा. मुक्तसिंह लामाले तामाङ बोन्बो परम्पराको उत्पत्ति, विभिन्न क्षेत्रका बोन्बो परम्परा र अभ्यासको विकासबारे प्रस्तुति दिनुभयो।
अभौतिक संस्कृति विज्ञ बुद्धि तामाङले तामाङ समुदायमा प्रचलित मानवसृष्टिसम्बन्धी मौखिक परम्परा र मिथकबारे चर्चा गर्नुभयो। लिपि विज्ञ अजितमान तामाङले इतिहासमा विभिन्न तामाङ राज्य तथा भेगअनुसार नाच, संस्कार र सांस्कृतिक अभ्यासमा रहेको विविधताबारे जानकारी दिनुभयो।


त्यस्तै, लिपि तथा शिक्षा विज्ञ राजेन्द्र थोकर तामाङले तामाङ भाषा संरक्षणका लागि व्यवस्थित सिकाइ र प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउँदै भाषा तथा लिपिको संरक्षणमा समुदाय आफैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
वरिष्ठ पत्रकार कुमार यात्रुले समुदायको भाषा, संस्कार, संस्कृति र जीवनपद्धति भूगोलसँग गहिरोसँग जोडिएको उल्लेख गर्दै मौलिक ज्ञान र संस्कृतिको पुस्तान्तरणबाट मात्रै समुदायको पहिचान दीर्घकालीन रूपमा जोगाउन सकिने धारणा राख्नुभयो।


कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङका सह–अध्यक्ष सरोज मोहन लामा तामाङले गर्नुभएको थियो। प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने देश–विदेशमा रहेका संघसंस्था, स्रष्टा, बुद्धिजीवी तथा सहभागीलाई धन्यवाद दिनुभयो।
अध्यक्ष ब्लोनले यस्ता ज्ञान तथा संस्कृति केन्द्रित कार्यक्रमलाई आगामी दिनमा नेपाल तामाङ घेदुङको वार्षिक क्यालेन्डरमै समावेश गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा तामाङ संघसंस्थाका प्रतिनिधि, स्रष्टा, बुद्धिजीवी, अनुसन्धानकर्ता तथा संस्कृतिकर्मीहरूको उल्लेख्य सहभागिता थियो। ज्ञान र विचारको गम्भीर विमर्शसँगै डम्फू गीत तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
तामाङ समुदायको मौलिक ज्ञान, भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि निरन्तर विमर्श आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।












