नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, एकपटक चार्जमा ५७५ किलोमिटर रेन्ज – Sagarmathapana:: Online News Portal

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, एकपटक चार्जमा ५७५ किलोमिटर रेन्ज

   २०८३ भाद्र ९ गते  

काठमाडौं।सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन प्रिमियम विद्युतीय एसयूभी अवतार ०७ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले ‘स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अवधारणामा तयार गरिएको यो मोडललाई नेपाली बजारमा भित्र्याएको हो।

अवतार ०७ को अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चांगान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन्।

अवतार ०७ मा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एनईडीसी मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्जमा ५७५ किलोमिटरसम्मको रेन्ज दिन्छ। रियर–ह्विल ड्राइभ पावरट्रेनले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ। गाडीले ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।


गाडीको क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ तथा १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम दिइएको छ।

त्यस्तै, जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ५० वाटको वायरलेस चार्जिङ सुविधा उपलब्ध छन्।

सुरक्षातर्फ नौवटा एयरब्यागसँगै लाइडार, हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक राडारमा आधारित विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स तथा सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ।

नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ। एफएचडीसहितको अवतार ०७ को मूल्य भने २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको छ। नाडा अटो शो २०२६ अवधिभर अवतार पेभिलियनमा पुगेर ग्राहक तथा अवलोकनकर्ताले गाडी प्रत्यक्ष हेर्न र अनुभव गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै