देशभक्ति दर्साउने स्वर्णिम वागले। – Sagarmathapana:: Online News Portal

देशभक्ति दर्साउने स्वर्णिम वागले।

   २०८१ श्रावण १५ गते  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए।
उनले पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गरेका हुन्।
राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पुर्‍याएको हो भन्ने प्रश्न पनि उनको छ।
आफूहरु छिमेकी राष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्न सक्ने पनि उनले बताए।
रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको उनको भनाइ थियो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक, सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारिस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामुहिक सामर्थ्य र एसियाको उदाउँदो भू–राजनीतिक महत्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने छ भनेर स्पष्ट राखिएको छ,’ उनले भने।
उनले मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नुपर्ने अवस्था नरहेको पनि बताए।

‘नदीनालाका सन्धिहरुलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःशाहस गर्नु पनि छैन। हामी नयाँ कुटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौँ। अरुको राष्ट्रवाद कागज र भाषणमा होला। मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ। मेरो देशभक्ति उन्नत विकल्पहरु त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै