नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक – Sagarmathapana:: Online News Portal

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

   २०८३ श्रावण २६ गते  

काठमाडौं।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

मंगलबार नेपाल प्रहरी क्लबस्थित ब्लु पभिलियन अडिटोरियम हलमा विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको प्रदर्शनी र बिक्रीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्।



उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाका कारण अटोमोबाइल क्षेत्रमा लगानीको वातावरण प्रभावित भइरहेको भन्दै निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा नहेर्न सरकारलाई आग्रह गरे। उनले नेपालमा अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर रहेको उल्लेख गर्दै विद्युतीय सवारीसाधनका लागि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र मुलुकलाई राजस्व उपलब्ध गराउने महत्वपूर्ण क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र यातायातसँग मात्र नभई बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिसहित अर्थतन्त्रका विभिन्न क्षेत्रसँग जोडिएको बताए।

उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको योगदान करिब ७ प्रतिशत रहेको छ।

एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति दर्शकको आकर्षण देखिएको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा सवारीसाधन प्रदर्शनीसँगै लगानी, प्रत्यक्ष वैदेशिक लगानी, नीति, प्रविधि र यातायात सुरक्षालगायत विषयमा छलफल तथा अन्तरक्रिया भइरहेका छन्। पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा प्यानल छलफल भएको थियो। कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

त्यस्तै, ‘Learning Session’ मा मात्रै तीन सयभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा Learning Sessions, Policy Dialogues र Industry Interactions सञ्चालन हुनेछन्।

सडक दुर्घटनापछि तत्काल गरिने प्राथमिक उपचारसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ‘Basic Life Support and Immediate Care After Road Traffic Accidents’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलले विशेष प्रस्तुति पनि दिएको थियो।

नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ।

प्रदर्शनीमा नयाँ ब्रान्ड तथा नयाँ मोडलका विद्युतीय सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै