साढे चार महिनापछि विदेशी राजदूतसँग प्रधानमन्त्री शाहको प्रत्यक्ष भेटवार्ता
काठमाडौं।प्रधानमन्त्री बालेन शाहले साढे चार महिनादेखि कायम राखेको विदेशी राजदूतसँग प्रत्यक्ष भेटवार्ता नगर्ने अडान त्याग्दै सोमबारदेखि कूटनीतिक भेटवार्ता पुनः सुरु गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भेटमा नेपाल–भारत र नेपाल–चीन सम्बन्ध, द्विपक्षीय हित तथा आपसी साझेदारीका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीको पछिल्लो कदमलाई कूटनीतिक वृत्तमा छिमेकी मुलुकसँग संवाद र सहकार्य बढाउने प्रयासका रूपमा हेरिएको छ। कूटनीतिक मामिला जानकारहरूले बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्न उच्चस्तरीय संवाद आवश्यक रहेको बताएका छन्।
राजदूतसँगको प्रत्यक्ष भेटवार्ता पुनः सुरु हुनुलाई नेपालको कूटनीतिक सक्रियता बढाउने महत्वपूर्ण कदमका रूपमा समेत व्याख्या गरिएको छ।












