मातृभाषा पत्रकारिताले लोकतन्त्र बलियो बनाउँछ : मन्त्री गौत्तम
काठमाडौं।कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।
सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताइन्।



उनले नेपाल बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएकाले यहाँको पहिचान भाषा, संस्कार, संस्कृति, चाडपर्व तथा जीवनशैलीसँग जोडिएको उल्लेख गरिन्।
मन्त्री गौत्तमले राज्यका कामकारबाही र सार्वजनिक सूचनाबारे नागरिकले आफूले सहज रूपमा बुझ्ने भाषामा जानकारी पाउने अवस्था भए मात्रै लोकतन्त्र थप सुदृढ हुने बताइन्।



नेपालका विभिन्न क्षेत्रमा अझै पनि राज्यका सबै सूचना नागरिकसम्म सहज रूपमा पुग्न नसकेको उल्लेख गर्दै उनले राज्य र नागरिकबीचको सूचना दूरी घटाउन सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिइन्।
उनले उक्त सूचना दूरी मेटाउन मातृभाषामा पत्रकारिता गर्ने सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन्। मातृभाषा पत्रकारितालाई अभियानका रूपमा अघि बढाइरहेका पत्रकारहरूको योगदान लोकतान्त्रिक व्यवस्थालाई नागरिकसँग जोड्न महत्वपूर्ण हुने उनको भनाइ थियो।













