नाडा अटो शो २०२६ भदौ ९ देखि, २०० भन्दा बढी स्टल रहने
काठमाडौं।नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनी नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा हुन लागेको हो । अटो शोको यो १८औँ संस्करण हो ।


आयोजकका अनुसार प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल तथा १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् ।
यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।

नाडाका अनुसार अटो शोमा स्टलका लागि व्यवसायीको माग उल्लेख्य रहे पनि प्रदर्शनीस्थलको क्षमता सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिन भएको छ ।
स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने प्रदर्शनीले पछिल्लो समय सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।













