नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शन हुँदै
काठमाडौं।नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। एक्स्पो सुरु हुन दुई दिन बाँकी रहँदा विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।
नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठका अनुसार व्यवस्थापन पक्ष र प्रदर्शक कम्पनीहरूले स्टल निर्माणलगायतका कामलाई तीव्रता दिएका छन्। हालसम्म एक्स्पोमा राखिने स्टलहरूको करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए।


उनका अनुसार बाँकी काम पनि एक्स्पो सुरु हुनुअघि नै सम्पन्न गरी आगन्तुकलाई स्वागत गर्न तयारी पूरा गरिनेछ।
आयोजकले यसपटक आगन्तुकको सहजताका लागि पार्किङ व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ। भृकुटीमण्डप परिसरको पार्किङलाई व्यवस्थित गर्नुका साथै नेपाल पुलिस क्लब क्षेत्रको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइने भएको छ।
एक्स्पोको प्रमुख आकर्षणका रूपमा नयाँ मोडलका सवारीसाधन रहने आयोजकले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। तीमध्ये करिब ४० नयाँ मोडल सार्वजनिक तथा लन्च हुने श्रेष्ठले जानकारी दिए।



आगन्तुकलाई लक्षित गर्दै डिजिटल टिकटको व्यवस्था गरिएको छ। डिजिटल टिकटमार्फत अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउन सकिने आयोजकको भनाइ छ।
एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँगै फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको समेत व्यवस्था गरिएको छ। परिवारसहित एक्स्पो अवलोकन गर्न आउने आगन्तुकलाई लक्षित गर्दै खानपिन र मनोरञ्जनको वातावरण तयार गरिएको आयोजकले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो। गत वर्षको पहिलो संस्करणमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको आयोजकले जनाएको छ। यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको छ।

एक्स्पोमा नयाँ सवारीसाधनको लन्चिङसँगै अटोमोबाइल उद्योगसँग सम्बन्धित सूचना तथा ज्ञान आदानप्रदानका कार्यक्रमसमेत आयोजना हुनेछन्। यस्ता कार्यक्रमले विद्यार्थी, अटोमोबाइल इन्थुजियास्ट तथा उद्योगका सरोकारवालालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नयाँ मोडलका सवारीसाधन, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा अटोमोबाइलसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रमलाई यसपटकको एक्स्पोका मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा अघि बढेकाले निर्धारित समयमै एक्स्पो सञ्चालनका लागि पूर्ण रूपमा तयार हुने आयोजकको विश्वास छ।












