तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार प्रभावित – Sagarmathapana:: Online News Portal

तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार प्रभावित

   २०८३ श्रावण २४ गते  

काठमाडौं।पहिरोका कारण नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि प्रभावित भएको छ। नाकातर्फ जाने सडक विभिन्न स्थानमा अवरुद्ध भएपछि चीनबाट नेपाल भित्रिने मालवाहक कन्टेनरसमेत नाकासम्म आइपुग्न सकेका छैनन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार सडक अवरुद्ध हुँदा नाकाबाट हुने आयात–निर्यात ठप्पजस्तै भएको छ। सडक कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन हुन नसकेको उनले बताए।

नाका प्रभावित हुँदा चीनबाट आयात हुने विद्युतीय सामग्री, मेसिनरी, निर्माण सामग्री, तयारी वस्तु तथा दैनिक उपभोग्य सामानको आपूर्तिमा असर पर्न सक्ने व्यवसायीहरूले बताएका छन्। लामो समय सडक अवरुद्ध रहे वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले ढुवानी लागतसमेत बढ्ने जोखिम छ।

तातोपानी नाका अवरुद्ध हुँदा व्यापारिक गतिविधिसँगै सरकारको भन्सार राजस्व संकलनमा समेत असर परेको छ। वर्षायाममा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने अवस्थाले नेपाल–चीन व्यापारका लागि सडक पूर्वाधारको जोखिमसमेत उजागर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै