मनहराका विस्थापित सुकुमबासीको माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह
काठमाडौं।भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुमबासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै शनिबार कोणसभा गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको सभामा प्रभावित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, घरटहरा तथा सामानमा भएको क्षतिको क्षतिपूर्ति र समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्न माग गरिएको छ।


मोर्चाले भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ। साथै भूमिहीन तथा सुकुमबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच र निस्सा वितरण प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ।
मोर्चाका अनुसार थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुडी क्षेत्रमा बस्दै आएका भूमिहीन परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रियाबिना विस्थापित गरिएको छ।














