NATTA निर्वाचनमा जिस्वान तुलाधर श्रेष्ठको प्यानलद्वारा १२ बुँदे प्रतिबद्धता पत्रकार सम्मेलन मार्फत सार्वजनिक – Sagarmathapana:: Online News Portal

NATTA निर्वाचनमा जिस्वान तुलाधर श्रेष्ठको प्यानलद्वारा १२ बुँदे प्रतिबद्धता पत्रकार सम्मेलन मार्फत सार्वजनिक

   २०८३ श्रावण २३ गते  

काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को निर्वाचन २०२६–२०२८ का लागि जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको ‘Team Jiswan Tuladhar Shrestha’ ले आफ्नो उम्मेदवारी घोषणा गर्दै १२ बुँदे निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ।

‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समृद्ध पर्यटन व्यवसाय’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको श्रेष्ठ नेतृत्वको टोलीले NATTA लाई थप सबल, समावेशी, पारदर्शी, प्रविधिमैत्री र व्यवसायीमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।




टोलीले पर्यटन व्यवसायीका विद्यमान समस्या समाधानका साथै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, डिजिटल रूपान्तरण, संस्थागत सुधार, हवाई टिकटिङ प्रणालीमा सुधार तथा नयाँ पुस्ताका पर्यटन उद्यमीलाई प्रोत्साहनलाई प्राथमिकतामा राखेको जनाएको छ।

श्रेष्ठ प्यानलले अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तारका लागि डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (AI) तथा B2B प्लेटफर्मको प्रयोग बढाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, IATA तथा हवाई टिकटिङ प्रणालीमा देखिएका समस्या समाधान, GDS मा समान पहुँच, ADM सम्बन्धी समस्या व्यवस्थापन तथा एयरलाइन्सको Capping Policy लाई पारदर्शी र व्यवसायीमैत्री बनाउन पहल गर्ने जनाएको छ।

नयाँ तथा साना पर्यटन व्यवसायीलाई सहज बनाउन Single Window System र NATTA Help Desk स्थापना गर्ने, महिला तथा युवा पर्यटन उद्यमीका लागि क्षमता अभिवृद्धि तथा स्टार्टअप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि प्यानलले सार्वजनिक गरेको छ।

हवाई टिकटमा लाग्ने लागत तथा VAT सम्बन्धी व्यवस्थाको पुनरावलोकनका लागि सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने, प्रमुख पर्यटकीय गन्तव्य जोड्ने अन्तरशहरी यातायात सञ्जाल विस्तार गर्ने र आधुनिक पर्यटकीय बस टर्मिनल निर्माणका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्ने योजना पनि अघि सारिएको छ।

प्यानलले NATTA को संस्थागत पुनर्संरचना गर्दै प्रदेश तथा क्षेत्रीय प्रतिनिधित्व र अधिकारलाई थप सुनिश्चित गर्ने तथा ‘Smart NATTA’ अवधारणामार्फत संस्थाका प्रशासनिक तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने जनाएको छ। Online Voting System लगायतका डिजिटल सेवाको पाइलट परियोजना सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

त्यसैगरी, अनधिकृत विदेशी टुर अपरेटर, अवैध टुर लिडर तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी टुर प्याकेज बिक्री तथा सञ्चालन नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने प्यानलको योजना छ।

पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी र दिगो सञ्चालनका लागि पहल गर्ने तथा NATTA का प्रादेशिक च्याप्टरलाई थप अधिकारसम्पन्न, सक्रिय र आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।

आउटबाउन्ड पर्यटनका क्षेत्रमा देखिएका वैदेशिक मुद्रा तथा नीतिगत जटिलता समाधान गर्न पहल गर्ने, कैलाश यात्रा, भुटान भ्रमणलगायत धार्मिक तथा अन्तर्राष्ट्रिय यात्रालाई सहज र व्यवस्थित बनाउने योजना पनि सार्वजनिक गरिएको छ।

प्यानलले ‘NATTA Academy’ अवधारणालाई प्रभावकारी बनाउँदै डिजिटल मार्केटिङ, विदेशी भाषा, AI, संकट व्यवस्थापन, नेतृत्व विकास तथा आधुनिक पर्यटन प्रविधिसम्बन्धी नियमित तालिम सञ्चालन गर्ने जनाएको छ। साथै, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटकीय गन्तव्यसम्म सहज पहुँच तथा सडक र यातायात पूर्वाधार सुधारमा पनि विशेष जोड दिने प्रतिबद्धता गरिएको छ।

यस्तो छ जिस्वान तुलाधर श्रेष्ठ प्यानल

अध्यक्ष:जिस्वान तुलाधर श्रेष्ठ — Swaa Tours and Travel

वरिष्ठ उपाध्यक्ष: विष्णु पाण्डे — Himalayan Club Tours & Travels
उपाध्यक्ष: प्रज्ञा पाठक शर्मा — Adventure Outdoor Excursion
महासचिव: सुशील पन्त — Gorkha International Travels
सचिव: रमेश घिमिरे — Well Nepal Tours & Treks
कोषाध्यक्ष: कृष्णप्रसाद ढकाल — Kathmandu Holiday Tour & Travel
सह–कोषाध्यक्ष: डा. विमला दाहाल — Selected Tours & Travel

कार्यसमिति सदस्य

१. प्रदीप आचार्य — Duke Nepal Adventure
२. सुदर्शन गजुरेल — Pearl Holidays
३. दिनेश घिमिरे — Shivalaya Holidays
४. त्रिलोचन न्यौपाने — Intel Roshi Tours & Travel
५. अनु राउत (अधिकारी) — Nepal Snow Jewel Travel & Tourism
६. रोजिना रञ्जितकार — Rainbow Travels & Tours

प्यानलले NATTA लाई कुनै व्यक्ति वा समूहको मात्र नभई सम्पूर्ण पर्यटन व्यवसायीको साझा आवाज र मञ्चका रूपमा विकास गर्ने जनाएको छ।

श्रेष्ठ नेतृत्वको टोलीले पर्यटन व्यवसायीका समस्या पहिचान गरेर मात्र नरोकिने, ती समस्याको नीतिगत समाधानका लागि सरकार तथा सम्बन्धित सरोकारवालासँग निरन्तर र परिणाममुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘सबल संस्था निर्माणका लागि एकता, व्यवसायको सुरक्षाका लागि प्रभावकारी नेतृत्व र नेपालको पर्यटन समृद्धिका लागि दूरदर्शी सोच आवश्यक रहेको’ उल्लेख गर्दै प्यानलले NATTA निर्वाचन २०२६–२०२८ मा जिस्वान तुलाधर श्रेष्ठसहित आफ्नो सम्पूर्ण प्यानललाई मतदान गरी विजयी गराउन NATTA सदस्य तथा पर्यटन व्यवसायीसमक्ष अपिल गरेको छ।

‘Building Bridges | Creating Opportunities | Together for a Better NATTA’ भन्ने अभियानसहित श्रेष्ठ नेतृत्वको प्यानल निर्वाचनमा होमिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै