ढिला होला, तर गलत हुँदैन’ : प्रधानमन्त्री बालेनको नागरिकलाई धैर्य गर्न आग्रह
काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशको पछिल्लो असहज परिस्थितिबीच नागरिकलाई धैर्य गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सुधारका कामको परिणाम देखिन केही समय लाग्ने बताएका हुन्।

पछिल्ला दिनमा अत्यावश्यक वस्तुको अभाव, रोजगारीको समस्या तथा युवाहरू विदेशिनका लागि राहदानी बनाउन लामो लाइनमा बस्नुपर्ने अवस्थालगायतका विषयमा सरकारको आलोचना बढिरहेका बेला प्रधानमन्त्री शाहको यस्तो धारणा सार्वजनिक भएको हो।


प्रधानमन्त्री शाहले लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।”
उनले बाहिरबाट देखिएजस्तो सरकार सञ्चालनको अवस्था सधैँ सहज नहुने संकेत गर्दै आफूले विभिन्न चुनौतीबीच काम गरिरहेको बताएका छन्। “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,” उनले भनेका छन्।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना योजना, निर्णय र धारणा सार्वजनिक गर्दै आएका शाहले प्रधानमन्त्री बनेपछि पनि यही शैलीलाई निरन्तरता दिएका छन्।
उनको पछिल्लो सन्देशलाई नागरिकमा बढ्दो निराशाबीच सरकारप्रति विश्वास कायम राख्न गरिएको अपिलका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहले सुधारको प्रक्रिया अघि बढिरहेको र त्यसको प्रतिफलका लागि केही समय आवश्यक पर्ने संकेत गरेका छन्।













