प्रभु इन्स्योरेन्स ३१औँ वर्षमा, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवामा जोड
काठमाडौं।प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औँ वार्षिक दिवस मनाएको छ। दिवसका अवसरमा कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले प्रभु इन्स्योरेन्स विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित कम्पनीका रूपमा थप सशक्त हुँदै अघि बढिरहेको बताएका छन्।
अध्यक्ष मल्लले तीन दशकभन्दा लामो कम्पनीको यात्रा विश्वास, मेहनत, निरन्तरता, परिवर्तनसँगको अनुकूलन र सामूहिक प्रतिबद्धताको परिणाम भएको बताए। ५ करोड रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको कम्पनी अहिले करिब १ अर्ब ७० करोड १० लाख रुपैयाँ चुक्ता पुँजीसहित देशभर ६० शाखा तथा उपशाखा र २६७ भन्दा बढी कर्मचारीमार्फत सेवा दिइरहेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नेटवर्थ ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा २० करोड रुपैयाँभन्दा बढी रहेको अध्यक्ष मल्लले बताए।
उनले वित्तीय सूचक र व्यवसाय विस्तारसँगै ग्राहकको विश्वासलाई कम्पनीको सबैभन्दा ठूलो पुँजीका रूपमा लिनुपर्नेमा जोड दिए। आगामी दिनमा डिजिटल बीमा सेवा, छिटो तथा प्रभावकारी दाबी व्यवस्थापन, आधुनिक जोखिम मूल्याङ्कन र डेटा आधारित निर्णय प्रक्रियालाई प्राथमिकता दिने उनले बताए।
नेपालमा कृषि, पर्यटन, जलविद्युत्, उद्योग, पूर्वाधार तथा साना–मझौला व्यवसायमा बीमाको पहुँच विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै मल्लले सेवा शहरमा मात्र सीमित नराखी गाउँ–गाउँसम्म पुर्याउनुपर्ने बताए।
“हाम्रो लक्ष्य केवल ठूलो कम्पनी बन्नु होइन, विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री, ग्राहककेन्द्रित र उत्कृष्ट सेवा दिने कम्पनी बन्नु हो,” अध्यक्ष मल्लले भने।
उनले कम्पनीको यात्रामा साथ दिने शेयरधनी, बीमित ग्राहक, कर्मचारी, अभिकर्ता, सर्भेयर, पुनर्बीमा साझेदार, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।












