बन्द र घाटामा रहेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्ध उद्योगसम्म उत्साहजनक प्रगति – Sagarmathapana:: Online News Portal

बन्द र घाटामा रहेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्ध उद्योगसम्म उत्साहजनक प्रगति

   २०८३ श्रावण २४ गते  

काठमाडौं।वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका सरकारी उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने प्रयासले सकारात्मक परिणाम दिन थालेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिन सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा, समन्वय र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। उनका अनुसार निरन्तरको इमान्दार प्रयास र ‘टिमवर्क’का कारण केही सरकारी संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन्।


प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणअनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाइएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा नेपाल औषधि लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

U

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको प्रधानमन्त्री शाहले बताएका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ।

नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार देखिएको जनाइएको छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको छ।

**दुग्ध विकास संस्थान (डीडीसी)**मा पनि सुधारका प्रयास अघि बढाइएको प्रधानमन्त्री शाहको भनाइ छ। किसानको दूधको बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ। सुधारपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत दैनिक ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ।

कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको जनाइएको छ। डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यातको तयारी गरिरहेको छ भने नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्ने तयारी भइरहेको छ।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिले पनि उत्पादन र कारोबारमा उल्लेख्य सुधार गरेको प्रधानमन्त्री शाहले बताएका छन्। सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको जनाइएको छ। साथै, चालु आर्थिक वर्षमै पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन वृद्धि गर्दै देशलाई आत्मनिर्भर बनाउने सरकारको यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै