वनस्थलीमा दुग्ध विकास संस्थानको आठौँ बिक्री केन्द्र सञ्चालन
काठमाडौं।दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।
बिक्री केन्द्र उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उपभोक्तासम्म डीडीसीका उत्पादन सहज रूपमा पुर्याउन बिक्री केन्द्र विस्तारलाई प्राथमिकता दिइएको बताए।


उनका अनुसार बिक्री केन्द्र विस्तारले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्नसमेत सहयोग पुग्नेछ। साथै, स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउँदै उपभोक्तालाई गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउन केन्द्रहरूले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
वनस्थलीस्थित बिक्री केन्द्रबाट उपभोक्ताले डीडीसीका दूध, दही, घिउ, पनिरलगायत विभिन्न दुग्धजन्य पदार्थ एउटै स्थानबाट खरिद गर्न सक्नेछन्।


पाण्डेले उपभोक्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए।
वनस्थलीमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै डीडीसीका बिक्री केन्द्रको संख्या आठ पुगेको छ। संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको दूधको बजार सुनिश्चित गर्ने तथा उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थ सहज र गुणस्तरीय रूपमा उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।













