नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड एट्टो सिरिज, यस्ता छन् नयाँ फिचर र मूल्य – Sagarmathapana:: Online News Portal

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड एट्टो सिरिज, यस्ता छन् नयाँ फिचर र मूल्य

   २०८३ श्रावण २६ गते  

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजका विद्युतीय गाडी प्रदर्शनमा राखेको छ।

एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ तथा अपग्रेडेड संस्करण प्रदर्शनीमा राखिएका छन्। बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनका अनुसार तीनवटै मोडलमा ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै नयाँ फिचर थप गरिएको छ।

एट्टो १ मा यसअघि उपलब्ध नभएको ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर तथा अटोमेटिक फोल्डिङ साइड मिरर थप गरिएको छ। एट्टो २ मा कम ब्याट्री क्षमतासहितको नयाँ ‘इसेन्सियल’ भेरियन्ट थपिएको छ भने एट्टो ३ मा नयाँ डिजाइनसहितको फेसलिफ्ट संस्करण ल्याइएको छ।

बीवाईडीका अनुसार यी मोडलहरू ब्लेड ब्याट्री प्रविधि तथा ई–प्लेटफर्म ३.० मा आधारित छन्।

यस्तो छ एट्टो सिरिजको मूल्य

कम्पनीका अनुसार एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ रहेको छ।

एट्टो २ इसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको ७८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

बीवाईडी भक्तपुरका म्यानेजर महर्जनले एट्टो १ नेपाली सडकका लागि उपयुक्त रहेको दाबी गरे। सानो आकार, छोटो ह्विलबेस र १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण शहरसँगै सामान्य ग्राभेल तथा केही कठिन सडकमा समेत सहज हुने उनको भनाइ छ।

विद्युतीय सवारीको सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुने भएकाले नेपालमा ईभीप्रति ग्राहकको आकर्षण बढ्दै गएको उनले बताए।

एक्स्पोमा बीवाईडीको विशेष अफर

नाइमा एक्स्पोको अवसरमा बीवाईडीले ग्राहकका लागि विभिन्न अफरसमेत ल्याएको छ। कम्पनीका अनुसार ग्राहकले एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज तथा एक वर्षको बीवाईडी एप सुविधा प्राप्त गर्नेछन्।

एक्स्पोमा बीवाईडीको स्टल हल नम्बर ५ मा रहेको छ। ग्राहकले एक्स्पोस्थलमै गाडी अवलोकन गर्नुका साथै अनलाइनमार्फत बुकिङसमेत गर्न सक्ने कम्पनीले जनाएको छ।

बीवाईडीले नेपालभर २० भन्दा बढी शोरुम र १३ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा रहेको जनाएको छ। थप चार सर्भिस सेन्टर निर्माणको क्रममा रहेको कम्पनीको भनाइ छ।

साउन ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा ५१ वटा स्टलमा ५५ भन्दा बढी सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी तथा डिलरले विद्युतीयसहित नयाँ प्रविधि र पछिल्ला मोडलका सवारीसाधन प्रदर्शन गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै