भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्ड सहभागी – Sagarmathapana:: Online News Portal

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्ड सहभागी

   २०८३ श्रावण २६ गते  

काठमाडौं।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘NAIMA Nepal Mobility Expo 2026’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनसहित ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डको सहभागिता रहेको छ । प्रदर्शनीमा ५३ वटा स्टलमार्फत विभिन्न सवारीसाधन, प्रविधि तथा मोबिलिटीसम्बन्धी उत्पादन र सेवाहरू प्रस्तुत गरिएको छ।


एक्स्पोमा दुईपांग्रे सवारीका १८ तथा चारपांग्रे सवारीका २९ नयाँ ब्रान्ड सार्वजनिक तथा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । विद्युतीय सवारी, नयाँ प्रविधि र दिगो मोबिलिटीका क्षेत्रमा भएका पछिल्ला विकासलाई उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पो अवधिभर सवारी तथा सडक सुरक्षासँगै विद्युतीय सवारीमा प्रयोग भएका ब्याट्रीको व्यवस्थापन, नयाँ प्रविधि, नीति तथा मोबिलिटी क्षेत्रका चुनौतीबारे Learning Sessions, Policy Dialogues and Industry Interactions आयोजना गरिनेछ । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञ, उद्योगी, विद्यार्थी र विभिन्न सरोकारवाला सहभागी हुनेछन् ।


नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनका अनुसार एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका नवीनतम विकासलाई प्राथमिकता दिइएको छ ।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले प्रदर्शनीसँगै तालिम, ज्ञान आदानप्रदान तथा जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको बताए ।

एक्स्पो उद्घाटनको दिन आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ भने बाँकी दिनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ । एक्स्पोको सह–प्रायोजकमा ग्लोबल आइएमई बैंक तथा विभिन्न क्षेत्रका बैंकिङ, बीमा, प्रविधि, चार्जिङ, राइड, मेडिकल, सुरक्षा र मिडिया साझेदार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै