इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य, उपचारमा २० प्रतिशतसम्म छुट
इटहरी।इटहरी उपमहानगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल अस्पतालमा शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उपचारमा नागरिकको आर्थिक भार कम गर्दै स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको बताए।
उपमहानगरपालिकाको सिफारिसमा उपचारका लागि आउने कोशी प्रदेशका बिरामीलाई समेत सम्झौतामा उल्लेखित सुविधा उपलब्ध गराइने जनाइएको छ।












