चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोजकुमार महतो पक्राउ
काठमाडौं।सामाजिक सञ्जालमार्फत अशिष्ट, आधारहीन तथा धम्कीपूर्ण सामग्री सम्प्रेषण गरी विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन्।
सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा महतोलाई आइतबार दिउँसो चतरा पुलस्थित एक होटलबाट पक्राउ गरेको जनाएको छ।
लहान नगरपालिका–२४ निवासी महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको आरोपमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार महतोले लामो समयदेखि सिरहाका जनप्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, राजनीतिकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतका व्यक्तिलाई लक्षित गरी सामाजिक सञ्जालमा तथ्यहीन, धम्कीपूर्ण र अशिष्ट सामग्री पोस्ट गर्दै आएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा महतोले आफूसँग स्वचालित हतियार रहेको र आफू जनतान्त्रिकका पूर्वलडाकु भएको दाबी गर्दै केही व्यक्तिलाई धम्की दिने तथा हतियारका तस्बिर पठाएर आपराधिक लाभ लिने प्रयास गरेको तथ्य खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले यस्ता गतिविधिबाट पीडित भएका अन्य व्यक्तिलाई समेत जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गरी आवश्यक जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
प्रहरीका अनुसार महतो यसअघि पनि विभिन्न घटनामा पक्राउ परिसकेका थिए। उनीविरुद्ध दर्ता भएका केही मुद्दा अदालतमा विचाराधीन रहेको जनाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












