स्काईवेल बीई११ नेपालमा सार्वजनिक, नाडा अटो शोमा ५९ लाख ९९ हजारदेखि विशेष मूल्य
![]()
काठमाडौं।लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’को बीई११ नेपालमा सार्वजनिक भएको छ । एलआरआर मोटर्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो–२०२६ को अवसर पारेर बीई११ का विभिन्न भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो।

![]()
कम्पनीका अनुसार बीई११ को नियमित मूल्य ४९ लाख ९९ हजारदेखि ६४ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । जसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, कम्फर्ट भेरियन्टको ५५ लाख ९९ हजार र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


नाडा अटो शो अवधिभर ग्राहकका लागि विशेष मूल्यसमेत सार्वजनिक गरिएको छ । यसअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार, कम्फर्ट भेरियन्ट ५३ लाख ९९ हजार, लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्ट ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


बीई११ मा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक र ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री विकल्प उपलब्ध छन् । एनएमसी ब्याट्रीसहितको भेरियन्टले एकपटक पूर्ण चार्जमा ५२० किलोमिटर तथा एलएफपी ब्याट्रीसहितको भेरियन्टले ४१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
१५० किलोवाट क्षमताको मोटर जडान गरिएको बीई११ मा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर रहेको छ । डीसी फास्ट चार्जरमार्फत ब्याट्री ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्जरी फिचरका रूपमा बीई११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो इन्टेरियर र आधुनिक डिजाइन उपलब्ध छन् । गाडीमा १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
एलआरआर मोटर्सले सोमबार स्काईवेलको लोगोसमेत सार्वजनिक गरेको थियो । नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच१९’ मा रहेको छ ।













