नेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित
बाँके – निजी क्षेत्रको प्रयासबाट पहिलोपटक सुरु गरिएको नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन्। पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढदै गएपछि उडान संख्या थप गरिँदै लगिएको हो।
लामो समयदेखि नेपालगञ्ज–पोखरा सीधा उडान गर्नुपर्ने विषयमा छलफल, बहस हुँदै आए पनि यसअघि कुनै पनि हवाई कम्पनीले आफनो व्यवसायिक उडान थालेको थिएन। उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाटा० बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो।
सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर गर्यो र बीचमै बन्द भयो। दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगञ्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए। पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ।
कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि दैनिक रुपमा उडान थालेको बुद्ध एयरका नेपालगञ्ज स्टेशन प्रमुख विनित शाहले बताए। नेपालगञ्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ। कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए।
कोरोना महामारीबीचतमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन्। कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन्। अहिले नेपालगञ्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ।
यहाँका पर्यटन व्यवसायीले नेपालगञ्ज र पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन्। नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगञ्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए। सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए।
रारा, कैलाश मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन्।
नेपालगञ्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सीधै नेपालगञ्ज आउन चाहन्थे, त्यसका लागि यसअघि सीधा हवाई उडान नै थिएन। सीधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।
नेपालगञ्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा रु चार हजार ९९५, पाँच हजार ५६५ र सात हजार ६६५ तोकिएको छ। यसका साथै नेपालगञ्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमानस्थल–होटलसम्म यातायातको व्यवस्थासहित रु ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित रु १३ हजार ९०० प्याकेज ल्याइएको कम्पनीले जनाएको छ।












