लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त
काठमाडौं।सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्यावलाई नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्यावलाई लगानी बोर्डको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिए।
नवनियुक्त सीईओ उक्याव विकास अर्थशास्त्र तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत विभिन्न जिम्मेवारीमा कार्य गरिसकेकी छन् भने सार्वजनिक नीति, दिगो विकास र लगानी व्यवस्थापनका क्षेत्रमा समेत अनुभव हासिल गरेकी छन्।
सरकारले उक्यावको नेतृत्वमा लगानी बोर्डमार्फत ठूला राष्ट्रिय तथा विदेशी लगानीका परियोजनालाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरेको छ।












