भारतीय अभिनेता प्रदीप सिंह रावतको निधन, नेपाली चलचित्रमा पनि देखिएको अभिनय यात्रा अन्त्य
काठमाडौं।भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप सिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरसँग जुधिरहेका रावतको मंगलबार साँझ उपचारका क्रममा निधन भएको हो। उनी केही महिनादेखि अस्पतालमा उपचाररत रहेको उनका व्यवस्थापकले बताएका छन्।
हिन्दी, तेलुगु र तमिल चलचित्रमा खलपात्रको प्रभावशाली अभिनयका लागि परिचित रावतले नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा समेत अभिनय गरेका थिए। उनले चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए भने ‘सरफरोश’, ‘लगान’ र ‘गजिनी’ जस्ता सफल चलचित्रमा निभाएका खलपात्रका भूमिकाले उनलाई भारतीय चलचित्र उद्योगमा विशेष परिचित बनाएको थियो।
रावतको निधनप्रति नेपाली अभिनेत्री विपना थापासहित भारतका विभिन्न कलाकार तथा चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको निधनसँगै भारतीय तथा दक्षिण एसियाली चलचित्र क्षेत्रमा एक अनुभवी र प्रभावशाली कलाकार गुमेको भन्दै शोक व्यक्त गरिएको छ।












