सामुदायिक वन दिवस २०८३ को अवसरमा पत्रकार सम्मेलन, सामुदायिक वन संरक्षणमा नीतिगत सुधारको माग
काठमाडौं- सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले सामुदायिक वन दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेको छ।
पत्रकार सम्मेलनमार्फत महासंघले नेपालको सामुदायिक वन व्यवस्थापन प्रणालीको उपलब्धि, वर्तमान चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराएको जनाएको छ। साथै सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, स्थानीय समुदायको अधिकार सुनिश्चितता तथा वनसम्बन्धी नीतिगत सुधारलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।



महासंघले सामुदायिक वनले वन संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आर्थिक–सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस अभियानलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको जनाएको छ।
सामुदायिक वन दिवस २०८३ को अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ।














