नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय कूटनीतिक संवाद
काठमाडौं।भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक संवाद गर्नुभएको छ।
नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच (Diplomatic Roundtable) कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नुभएको हो।

![]()
कार्यक्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, क्षेत्रीय कनेक्टिभिटी तथा दक्षिण एसियाको समसामयिक भूराजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।
गोलमेचमा पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उप-राष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरणलगायत सहभागी हुनुहुन्थ्यो।
![]()
![]()

त्यस्तै, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (ITPO) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय तथा भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति तथा द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैडरसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको पनि संवादमा सहभागिता रहेको थियो।

अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा भएको उक्त संवादलाई नेपाल–भारत सम्बन्धका विविध आयाम तथा क्षेत्रीय सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।














