चलचित्र ‘बुकी फूल’ निर्माण हुँदै, सिक्लेसमा गरियो शुभमुहूर्त – Sagarmathapana:: Online News Portal

चलचित्र ‘बुकी फूल’ निर्माण हुँदै, सिक्लेसमा गरियो शुभमुहूर्त

   २०८३ आश्विन ३ गते  

काठमाडौं।गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन तथा परम्परालाई कथावस्तु बनाउँदै चलचित्र ‘बुकी फूल’ निर्माण हुने भएको छ। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार चलचित्रको शुभमुहूर्त गरिएको हो।

बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रले गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ।

चलचित्रको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिनेछ। निर्माण पक्षका अनुसार छायांकन करिब ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

चलचित्रका परिकल्पनाकार तथा निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले आफ्ना बाबुबाजेबाट सुन्दै आएका कथा, भोगाइ र समुदायको इतिहासलाई चलचित्रमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘बुकी फूल’ निर्माण गर्न लागिएको बताए।
उनका अनुसार चलचित्रमा गुरुङ समुदायको इतिहास, संस्कृति, परम्परा, जीवनशैली र सामाजिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिनेछ।

निर्देशक ओमप्रकाश गुरुङले ऐतिहासिक परिवेशमा आधारित कथावस्तु भएकाले चलचित्रको मौलिकता र सांस्कृतिक पक्षलाई विशेष ध्यान दिइने बताए। स्थानीय परिवेश, संस्कार र जीवनशैलीलाई पर्दामा यथार्थपरक ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ।

चलचित्रमा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ र बेदबहादुर गुरुङ ‘श्याम’लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको छायांकन सुसन प्रजापतिले गर्नेछन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्।


शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायको इतिहास र सांस्कृतिक जीवनलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण चलचित्र बन्न सक्ने बताए।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय विषयवस्तु र प्रस्तुतिका दृष्टिले सुधार हुँदै गएको उल्लेख गर्दै उनले चलचित्र निर्माणमा मौलिक कथा र प्रस्तुतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

शुभमुहूर्त कार्यक्रममा मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। चलचित्रले सिक्लेसको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई समेत पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै