पेन्सन पट्टा’ दोस्रो सातामा, दर्शकको साथ बढ्दो – Sagarmathapana:: Online News Portal

पेन्सन पट्टा’ दोस्रो सातामा, दर्शकको साथ बढ्दो

   २०८३ आश्विन २ गते  

काठमाडौं।माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको फिल्मले दोस्रो सातामा पनि विभिन्न सहरका हलमा राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार फिल्मले पहिलो सातामा २ करोड २५ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको छ। दोस्रो सातामा पनि फिल्मले विभिन्न हलमा राम्रो शो पाएको बताइएको छ।

पोखरा, चितवन, इटहरी, दमक, बुटवल, झापा, दमौली तथा काठमाडौंका अधिकांश हलमा दर्शकको उपस्थिति बढ्दै गएको निर्माण पक्षको दाबी छ। पहिलो सातापछि प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो ‘माउथ पब्लिसिटी’ले फिल्मप्रतिको आकर्षण थप बढाएको जनाइएको छ।

भूपू लाहुरेको जीवनसँग जोडिएको कथा

‘पेन्सन पट्टा’ले भूपू लाहुरे तथा पेन्सनर समुदायको जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग, संघर्ष र सामाजिक यथार्थलाई कथाको आधार बनाएको छ। फिल्ममा नेपाली समाजका पारिवारिक सम्बन्ध तथा मानवीय संवेदनालाई प्रस्तुत गरिएको छ।

त्यस्तै, गुरुङ समुदायको संस्कृति, परम्परा र सामाजिक जीवनलाई समेत कथासँग जोडिएको छ। मादी क्षेत्र तथा गुरुङ गाउँको परिवेशलाई पर्दामा प्रस्तुत गरिएको फिल्मले स्थानीय जीवनशैली र सांस्कृतिक पक्षलाई पनि समेटेको छ।

चर्चित कलाकारको अभिनय

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, पुष्कर गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ र माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन्। सुसन प्रजापतिको छायांकन रहेको फिल्मको सम्पादन केर डी. कोइच लिनुचले गरेका छन्।

दोस्रो सातामा पनि राम्रो शो पाइरहेको जनाउँदै निर्माण पक्षले फिल्मलाई माया, साथ र समर्थन गर्ने दर्शकप्रति आभार व्यक्त गरेको छ।साथै, फिल्म हेर्न बाँकी दर्शकलाई समय मिलाएर हलसम्म पुग्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै