सुरक्षित आवासको नारासहित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सुरु – Sagarmathapana:: Online News Portal

सुरक्षित आवासको नारासहित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सुरु

   २०८३ आश्विन २ गते  

काठमाडौं-‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्स्पो आयोजना गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रमा देखिएका हदबन्दीलगायतका समस्या समाधानका लागि नेपाल सरकार प्रयासरत रहेको बताउनुभयो। उहाँले प्रतिनिधि सभाको सभामुखको हैसियतले सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सभामुख अर्यालले ठूला व्यवसायीका समस्यासँगै साना व्यवसायी तथा दूरदराजका नागरिकका समस्या समाधानमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउन र युवा पुस्तालाई नेपालमै अवसर सिर्जना गर्न सबै पक्षले मेहनत गर्नुपर्ने उहाँको भनाइ थियो।

घरजग्गा क्षेत्र चलायमान नभएसम्म अर्थतन्त्र फस्टाउन नसक्ने दाबी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भूकम्प र कोभिडजस्ता कठिन परिस्थितिमा पनि निजी क्षेत्रले अर्थतन्त्रमा योगदान दिँदै आएको बताउनुभयो।

उहाँले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्र चलायमान नभएसम्म अन्य व्यवसायसमेत अपेक्षित रूपमा फस्टाउन नसक्ने धारणा राख्नुभयो।

अध्यक्ष अग्रवालले निजी क्षेत्रलाई भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल सञ्चालन गर्न दिएमा वर्षभरि उत्कृष्ट रूपमा सञ्चालन गरेर देखाउन सकिने बताउनुभयो। साथै, विदेशी नागरिक, विशेषगरी गैरआवासीय नेपालीलाई नेपालमा अपार्टमेन्ट बिक्री गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान गर्न माग

समारोहका सभापति एवं नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले निजी क्षेत्रमाथि विश्वास गर्दै ऐन तथा नियममा आवश्यक सुधार गरेमा धेरै काम गर्न सकिने बताउनुभयो।

उहाँले जग्गाको हदबन्दीसम्बन्धी समस्या समाधान नगरिए रियल इस्टेट व्यवसायीहरू व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था आउन सक्ने धारणा राख्नुभयो। साथै, कित्ताकाटको दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिनुभयो।

हालैको बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रियल इस्टेट व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो।

कुँवरले कृष्णभीरमा पहिरोको जोखिम रहने गरेको उल्लेख गर्दै थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङमार्ग निर्माण गर्न सकिने प्रस्ताव पनि अघि सार्नुभयो। उहाँले यसलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।

रियल इस्टेट क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिन माग

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल इस्टेट कम्पनीहरूलाई जग्गाको हदबन्दीमा छुट दिनुपर्ने माग गर्नुभयो।

उहाँले घरजग्गा क्षेत्रका लागि विभिन्न नीतिगत मागसमेत अघि सार्नुभयो। महासंघका प्रमुख मागहरूमा:

  • दर्तावाल रियल इस्टेट कम्पनीलाई जग्गाको हदबन्दीमा छुट दिनुपर्ने।
  • लोन टु भ्यालु (LTV) रेसियो ८० प्रतिशत पुर्‍याउनुपर्ने।
  • ३ करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने।
  • घरजग्गा क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिनुपर्ने।

१०० भन्दा बढी स्टल, प्राविधिक सेमिनार र प्यानल छलफल

एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योले प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार एक्स्पो अवधिभर वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासलगायतका विषयमा उच्चस्तरीय प्राविधिक सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ।

कहिलेसम्म चल्छ प्रदर्शनी?

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

समय: बिहान १० बजेदेखि साँझ ६ बजेसम्म
स्थान: भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौं

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै