भोटेकोशी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार रुपैयाँ आवास भाडा उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौं।नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारको निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, चार जनाभन्दा बढी सदस्य भएका परिवारका लागि थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम प्रदान गरिनेछ।
बाढी प्रभावित परिवारहरूलाई स्थायी आवासको व्यवस्था नहुँदासम्म अस्थायी रूपमा सुरक्षित आवासमा बसोबास गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सहायता उपलब्ध गराउने निर्णय गरिएको हो।
सरकारले प्रभावित परिवारको आवश्यकताअनुसार आवास तथा अन्य आधारभूत खर्च व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेको छ।












