रोटरीको सहयोगले धादिङका बाढीपीडित परिवारलाई खानेपानीमा राहत – Sagarmathapana:: Online News Portal

रोटरीको सहयोगले धादिङका बाढीपीडित परिवारलाई खानेपानीमा राहत

   २०८३ भाद्र २८ गते  

धादिङ।रोटरी डिस्ट्रिक्ट ३२९२ तथा विभिन्न रोटरी क्लबहरूको सहकार्यमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर -६ का बाढी प्रभावित परिवारहरुलाई खानेपानीका सामग्री वितरण गरिएको छ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरुलाई रोटरी डिस्ट्रिक्ट ३२९२, रोटरी क्लब अफ भादगाउँ, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ काठमाडौं सर्कलको सहकार्यमा १ सय १० परिवारलाई १ सय १० थान ‘एक्वा बक्स’ पानी फिल्टर तथा १ सय १० थान पानी संकलन गर्ने बाल्टिन वितरण गरिएको हो । बाढीपछि सुरक्षित खानेपानीको अभाव झेलिरहेका प्रभावित परिवारहरुलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको रोटरीले जनाएको छ । उक्त सहयोगले बाढी प्रभावित परिवारहरुलाई सुरक्षित खानेपानीको पहुँचमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

गल्छी गाउँपालिकाका अध्यक्ष दीपक कुमार कार्कीका अनुसार बाढीका कारण गाउँपालिकामा २ सय भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । विपद्का कारण खानेपानीलगायत आधारभूत आवश्यकतामा समस्या देखिएको अवस्थामा रोटरीको सहयोग महत्वपूर्ण भएको अध्यक्ष कार्कीले बताए । यस्तै, रोटरी क्लब अफ भादगाउँका अध्यक्ष रोटरियन बाबुराम खड्का, सचिव रोटरियन सिर्जना महर्जन, सह-सचिव रोटरियन सन्दिप राज भाटलगायत रोटरी क्लब अफ भदगाउँको सम्पूर्ण परिवारले राहत अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यस्तै, सहयोग तथा उपस्थितिका लागि चार्टर प्रेसिडेन्ट रोटरियन मनोज कँडेल, क्लब प्रशासन प्रमुख रोटरियन बिन्दु गिरी, जनसम्पर्क प्रमुख रोटरियन मात्रिका प्रसाद गौतम, रोटरियन असबिन कुमार राउत तथा रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रोटरियन लक्ष्मी खनालप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।

विपद् बाट अझै धेरै परिवार प्रभावित रहेको भन्दै रोटरी क्लब अफ भादगाउँले नेपाल तथा विश्वभर रहेका रोटरियन, विभिन्न संघ/संस्था, व्यवसायीहरु तथा शुभेच्छुकहरुलाई राहत तथा पुनःस्थापना र पुन:निर्माणका कार्यमा सहकार्य गर्न आह्वान गरेको छ ।

विपद्को समयमा प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिँदै स्वास्थ्य, सुरक्षा र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न गरिएको यो मानवीय पहलले समुदायप्रतिको रोटरीको सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै