भोटेकोशी बाढीपीडितका लागि नेफिन यूएईको पहल : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ६१ हजार रुपैयाँ
दुबई,यूएई।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईले भोटेकोशी बाढी तथा पहिरोपीडितको सहयोगार्थ संकलित रकम मध्ये ४ लाख ६१ हजार ९ सय ८१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको छ।

![]()
नेफिन यूएई तथा आबद्ध जातीय संस्थाहरूको पहलमा सञ्चालित राहत संकलन अभियानअन्तर्गत जम्मा भएको रकममध्ये युएई दिराम ११ हजार १ सय १२ दशमलव ६० बराबरको नेपाली रुपैयाँ ४ लाख ६१ हजार ९ सय ८१ कोषमा पठाइएको महासंघले जनाएको हो।
गत भदौ १० गते (२६ अगस्ट २०२६) रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, त्रिशूलीलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि नेफिन यूएईले राहत अभियान सञ्चालन गरेको थियो। राहत अभियान सम्बन्धी निर्णय लिन नेफिन यूएई कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरू एवं आबद्ध जातीय संस्थाका अध्यक्षहरूको उपस्थितिमा २७ अगस्ट २०२६ मा आपत्कालीन बैठक बसेको थियो। बैठकले बाढी तथा पहिरो पीडितको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्ने निर्णय गर्दै संकलित रकमको ६० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र बाँकी ४० प्रतिशत प्रत्यक्ष प्रभावित पीडितहरूलाई राहत वितरण गर्ने निर्णय गरेको थियो।
![]()
![]()

सोही निर्णयअनुसार कोषमा रकम जम्मा गरिएपछि बाँकी युएई दिराम ७ हजार ४ सय ८ दशमलव ४० रकम प्रत्यक्ष बाढी तथा पहिरो प्रभावितहरूलाई राहत वितरणका लागि छुट्याइएको महासंघले जनाएको छ।नेफिन यूएईका अनुसार प्रत्यक्ष राहत वितरणका लागि बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको विवरण संकलन गर्ने कार्य जारी छ। आवश्यक विवरण संकलन तथा प्रक्रिया पूरा भएपछि छुट्याइएको रकम सम्बन्धित वास्तविक पीडितहरूलाई प्रत्यक्ष राहतस्वरूप वितरण गरिनेछ। राहत वितरणलाई प्रभावकारी, व्यवस्थित तथा वास्तविक पीडितसम्म पुर्याउने उद्देश्यले आवश्यक प्रक्रिया अघि बढाइएको महासंघले स्पष्ट पारेको छ।

विपद्को कठिन घडीमा सहयोग प्रदान गर्ने सम्पूर्ण आबद्ध जातीय संस्था, संस्थाका प्रतिनिधि तथा सहयोगी मनहरूप्रति नेफिन यूएईले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
महासंघले प्राप्त सहयोगले बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूमा राहत, आशा र मानवीयताको अनुभूति दिलाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ।
मानवीय सहयोग अभियानमा साथ, सद्भाव र अमूल्य सहयोग प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नेफिन यूएईले विपद्का बेला एकता, सहकार्य र मानवीय भावनाको महत्व अझ उजागर भएको जनाएको छ।












