सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ का सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौं।नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई प्रतियोगिताको उपाधि दिलाउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले ६ खेलमा १७ विकेट लिएका थिए । उनको प्रभावशाली प्रदर्शनकै कारण नेपालले प्रतियोगितामा बलियो उपस्थिति जनाउँदै उपाधि जित्न सफल भएको हो ।
सन्दीपले प्राप्त गरेको सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूलाई समर्पण गरेका छन् । उनको यो समर्पणले खेलकुदसँगै सामाजिक संवेदनशीलताको सन्देशसमेत दिएको छ ।
प्रतियोगिताको पहिलो खेलमै बहराइनविरुद्ध सन्दीपले ५ विकेट लिएका थिए । त्यसपछि उनले मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमानविरुद्ध ३ तथा फाइनलमा १ विकेट लिए ।
नेपालले शनिबार भएको फाइनल खेलमा यूएईलाई पराजित गर्दै एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेको हो । प्रतियोगिताभर सन्दीपको बलिङ प्रदर्शन नेपालका लागि निर्णायक रह्यो ।












