कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न जेनजी मुभमेन्ट नेपालको माग – Sagarmathapana:: Online News Portal

कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न जेनजी मुभमेन्ट नेपालको माग

   २०८३ भाद्र २८ गते  

काठमाडौं।जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष तथा गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमार्फत बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको र विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप उठेकाले तत्काल छानबिन गर्नुपर्ने बताएका हुन्।

वक्तव्यमा गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा निरन्तर राखिनु कानुनी शासनको उपहास भएको उल्लेख छ। पद र पहुँचका आधारमा कसैलाई पनि अनुसन्धानबाट उन्मुक्ति दिन नहुने मुभमेन्टको भनाइ छ।

जेनजी मुभमेन्ट नेपालले कुमार बेनलाई राज्यमन्त्रीस्तरको सुविधा उपलब्ध गराइएको विषयमा पनि प्रश्न उठाएको छ। साथै, उनको शैक्षिक योग्यता एसएलसी पास मात्र रहेको दाबी गर्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिका लागि आवश्यक योग्यता र मापदण्डबारे स्पष्ट पार्न माग गरेको छ।

त्यसैगरी, सत्तारूढ दलकै एक सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई समेत मुभमेन्टले गम्भीरतापूर्वक उठाएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग सम्बन्धित संवेदनशील विषय भएको मुभमेन्टले जनाएको छ।

प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताका विषयमा प्रश्न उठाउने, तर आफ्नै प्रमुख सल्लाहकारमाथि सोही देशका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्दा मौन बस्ने हो भने सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्ने वक्तव्यमा उल्लेख छ।

अनुसन्धान प्रभावित हुन सक्ने सम्भावना रोक्न कुमार बेनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्नुपर्ने माग पनि मुभमेन्टले गरेको छ। राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए देशद्रोहलगायत प्रचलित कानुनअनुसार कठोर कारबाही गर्नुपर्ने जेनजी मुभमेन्ट नेपालको भनाइ छ।

नोट: माथि उल्लेखित आरोपहरू मुभमेन्टको प्रेस वक्तव्यमा आधारित छन्। आरोप पुष्टि भएको तथ्यका रूपमा नभई सम्बन्धित पक्षको दाबीका रूपमा प्रस्तुत गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै