डोकोमा साबुन बोकेर गाउँ–गाउँ पुग्छन् तीन दिदीबहिनी, निम–तितेपातीबाट ‘आमिमि साबुन’
निमा पोङ्स्युवा
धरान।धरान उपमहानगरपालिका–१७ पटनालीका तीन जना दिदीबहिनी महिलाले संयुक्त लगानीमा घरेलु साबुन उत्पादन सुरु गरेका छन्। स्थानीयस्तरमै पाइने निम र तितेपातीलाई प्रयोग गरी विभिन्न प्रकारका साबुन उत्पादन गर्दै उनीहरू आत्मनिर्भर बन्ने प्रयासमा जुटेका हुन्।

![]()
सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको दुईदिने तालिम लिएपछि महिलाहरूले साबुन उत्पादन सुरु गरेका हुन्। तालिममा २१ जना सहभागी भए पनि अहिले उत्पादन र बिक्रीको काममा तीन जना महिला सक्रिय छन्।उनीहरूका अनुसार गत असारको अन्त्यदेखि साबुन उत्पादन सुरु गरिएको हो। सुरुमा सानो लगानीबाट काम थालेका उनीहरूले क्रमशः लगानी बढाउँदै उत्पादन अघि बढाइरहेका छन्।
![]()
![]()

हाल निम साबुन, तितेपाती साबुन, मह साबुन तथा निम–तितेपाती मिश्रित साबुन उत्पादन हुँदै आएको छ। साबुन बनाउन आवश्यक ‘सोप बेस’ बाहिरबाट ल्याइन्छ भने निम र तितेपातीजस्ता कच्चा पदार्थ स्थानीयस्तरमै संकलन गर्ने गरिएको छ। त्यसलाई प्रशोधन गरी सोप बेसमा मिसाएर विभिन्न आकारका साबुन तयार गरिन्छ।
त्यसैगरी उनीहरूले झोल साबुन र कालो फिनेलसमेत उत्पादन गर्दै आएका छन्।


उत्पादनलाई बजारसम्म पुर्याउन उनीहरू पटनाली, खोरिया, खैरेनी, बगुवाडाँडा, घोपा, खोक्लिनलगायत आसपासका क्षेत्र तथा साप्ताहिक हाटबजारसम्म पुग्ने गरेका छन्। गाउँघरमा भने साबुन डोकोमा बोकेर घरघरमा बिक्री गर्ने गरिएको उनीहरू बताउँछन्।
हालसम्म होलसेल बजारमा भन्दा खुद्रा बिक्रीमै जोड दिइएको छ। ग्राहकबाट भने उत्पादनप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको उनीहरूको भनाइ छ। विशेषगरी निम र तितेपातीबाट बनेका साबुन प्रयोग गर्ने ग्राहकले राम्रो प्रतिक्रिया दिने गरेको उनीहरूले बताएका छन्।
महिलाहरूका अनुसार बजार मागअनुसार उत्पादनको मात्रा फरक हुने गरेको छ। सामान छिटो बिक्री भए दैनिकसमेत साबुन बनाउने र बिक्री सुस्त भए केही दिनको अन्तरमा उत्पादन गर्ने गरिएको छ। हालको औसतमा महिनामा करिब २० किलो ठोस साबुन, २० लिटर झोल साबुन र ५ लिटर फिनेल उत्पादन/बिक्री हुने गरेको उनीहरूको भनाइ छ।
उत्पादनको प्याकेजिङ भने अहिले सामान्य प्लास्टिकमा सीमित छ। व्यवसाय विस्तार भएपछि उद्योग दर्ता गर्ने, प्याकेजिङलाई व्यवस्थित बनाउने र बजार विस्तार गर्ने योजना उनीहरूले सुनाएका छन्। सरकारी अनुदान तथा औपचारिक दर्ता प्रक्रियाबारे भने आफूहरूलाई पर्याप्त जानकारी नभएको उनीहरूको भनाइ छ।
तीनै महिलाले घरायसी कामसँगै साबुन उत्पादन र बिक्रीको जिम्मेवारी सम्हालिरहेका छन्। कहिलेकाहीँ राति अबेरसम्म साबुन उत्पादन गर्नुपर्ने भए पनि परिवारको सहयोगका कारण व्यवसायलाई निरन्तरता दिइरहेको उनीहरू बताउँछन्।
“गाउँमै पाइने सामग्री प्रयोग गरेर साबुन बनाएका छौँ। ग्राहकले पनि राम्रो छ भन्नुभएको छ। सबैले स्थानीय उत्पादन प्रयोग गरेर हामीलाई सहयोग गरिदिनुहोस्,” उनीहरूको आग्रह छ।सानो लगानीबाट सुरु भएको यो प्रयास अहिले स्थानीय बजारमा आफ्नो पहिचान बनाउने क्रममा छ।
उचित तालिम, प्याकेजिङ, व्यवसाय दर्ता, बजार व्यवस्थापन र सरकारी सहयोग पाउन सके यसलाई थप व्यवस्थित घरेलु उद्योगका रूपमा विस्तार गर्न सकिने देखिन्छ।












