रसुवा बाढीपीडितका लागि गोल्छा ग्रुपले १ करोड ५० लाख सहयोग गर्ने – Sagarmathapana:: Online News Portal

रसुवा बाढीपीडितका लागि गोल्छा ग्रुपले १ करोड ५० लाख सहयोग गर्ने

   २०८३ भाद्र ११ गते  

काठमाडौं।रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त सहयोग घोषणा गरेका हुन्। बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ।

ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै अझै आफन्तको सम्पर्कको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको छ।

विपद्को कठिन घडीमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने गोल्छा ग्रुपको भनाइ छ।

निजी क्षेत्रले पनि सरकार तथा समुदायसँग हातेमालो गर्दै राहत र पुनःस्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने भन्दै ग्रुपले सहयोग घोषणा गरेको हो। गोल्छा ग्रुपले बाढी प्रभावित सबै परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै