अमेरिकाद्वारा रसुवा बाढीपीडितका लागि ५ लाख डलर सहयोग घोषणा
काठमाडौं।अमेरिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
![]()

अमेरिकी विदेश मन्त्रालयले बाढीमा परी ज्यान गुमाउनेका परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति जनाएको छ। मन्त्रालयले घटनालाई नजिकबाट नियालिरहेको र प्रतिकार्य प्रयासमा सहयोग गर्न विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउने जनाएको छ।


अमेरिकी विदेश मन्त्रालयका अनुसार क्याथोलिक रिलिफ सर्भिसेसलाई प्रदान गरिएको वैश्विक अनुदानमार्फत उपलब्ध गराइने उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवामा प्रयोग गरिनेछ।
यस्तै, काठमाडौंस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा आवश्यक सहयोगका लागि स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
दूतावासले नेपालमा रहेका अमेरिकी नागरिकलाई आकस्मिक सहयोग आवश्यक परे [email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार तथा अधिकारीका निर्देशन पालना गर्न र आपत्कालीन सूचना प्राप्त गर्न Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुन पनि आग्रह गरिएको छ।
नेपालमा रहेका परिवारका सदस्यबारे जानकारी खोजिरहेका अमेरिकी नागरिकले अमेरिका तथा क्यानडाबाट १–८८८–४०७–४७४७ र अन्य स्थानबाट १–२०२–५०१–४४४४ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।












