बाढीको पूर्वसूचना दिँदै घरघर पुगेका वडाध्यक्ष आफैँ भए विस्थापित
काठमाडौं।त्रिशूली नदीमा ठूलो बाढी आउन लागेको सूचना पाएपछि स्थानीयलाई सतर्क गराउँदै घरघर पुगेका विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जित आफैँ बाढीबाट विस्थापित भएका छन्। बाढीले उनी सञ्चालक रहेको होटल लेलिनसहित त्रिशूली बजारका ठूलो संख्यामा घर तथा संरचनामा क्षति पुर्याएको छ।
बुधबार बिहान रसुवाबाट ठूलो बाढी आउन लागेको सूचना पाएपछि रञ्जितले सामाजिक सञ्जालमार्फत स्थानीयलाई सचेत गराएका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारीबाट सूचना पुष्टि भएपछि उनी सामाजिक सञ्जालमा सूचना पोस्ट गरेर मात्र बसेनन्, त्रिशूली बजार र पुरानो साँघु बजार क्षेत्रमा पुगेर नदी किनारका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए।


प्रहरी तथा सशस्त्र प्रहरीले समेत माइकिङ गर्दै स्थानीयलाई जोखिमबारे जानकारी गराएका थिए। पूर्वसूचनाका कारण तल्लो क्षेत्रमा मानवीय क्षति कम गर्न सहयोग पुगेको रञ्जितले बताएका छन्।
तर बिहान करिब साढे ९ बजे त्रिशूली नदीमा आएको भीषण बाढीले बजारमा ठूलो क्षति पुर्यायो। ढुंगे र त्रिशूली बजार जोड्ने पुरानो ट्रस पुल तथा नयाँ मोटरेबल पुलसमेत बाढीले बगाएपछि दुई बजारबीचको सम्पर्क विच्छेद भएको छ।
बाढीसँगै आएको लेदोले त्रिशूली बजारका घरमा दुई तलासम्म क्षति पुर्याएको छ। रञ्जितका अनुसार बजारका अधिकांश संरचना जोखिमपूर्ण अवस्थामा पुगेका छन्। उनको होटल र घरसमेत बाढीबाट जोगिन सकेनन्।
प्रारम्भिक अनुमानअनुसार त्रिशूली बजारमा करिब ४०० घर प्रभावित भएका छन्। यद्यपि क्षतिको यकिन विवरण संकलन भइरहेको र संख्या अझ बढ्न सक्ने जनाइएको छ।

बाढीको पूर्वसूचना पाएपछि हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिशूली त्रिभुवन माध्यमिक विद्यालय तत्काल बन्द गरिएको थियो। विद्यार्थीलाई सुरक्षित स्थानमा पठाइएकाले विद्यार्थी हताहत भएको भन्ने समाचार सही नभएको रञ्जितले स्पष्ट पारेका छन्।
यसैबीच, साँझपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। करिब आठ जना व्यक्ति घरमै फसेको जानकारी आएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको रञ्जितले बताएका छन्।
बाढीबाट विस्थापित परिवारलाई बजारमाथिको कोलोनी क्षेत्रमा रहेको भैरुम माध्यमिक विद्यालयमा राखिएको छ। त्यहाँ प्रभावितका लागि खाने तथा बस्ने व्यवस्था गरिएको छ। त्रिशूली विद्यालयका करिब ४० विद्यार्थीलाई भने माथिल्लो क्षेत्रमा रहेको चर्चको विद्यालयमा सुरक्षित राखिएको जनाइएको छ।












