भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

   २०८३ भाद्र १० गते  

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरूमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने रहेका छन्।

त्यस्तै, रसुवा गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोटका तेजबहादुर तामाङ, रसुवाका पेम्वा तामाङ, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठसहित विभिन्न जिल्लाका घाइतेहरूको उपचार भइरहेको छ। उपचाररतमा सिन्धुपाल्चोक बाह्रबिसेका रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी तथा जाजरकोटका बलबहादुर घर्ती मगरलगायत छन्।

शिक्षण अस्पतालमै कामु नगरकोटीको पनि उपचार भइरहेको छ। उनीसँग तीन महिनाको नाबालक शिशु समेत रहेको प्रहरीले जनाएको छ।

त्यस्तै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण–१ की रिता दोचाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीपछि उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार गराइएको प्रहरीले जनाएको छ। घटनामा बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यसमेत जारी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै