टिमुरेमा आएको बाढीले ३०० भन्दा बढी ईभी बगायो,अटो बजारमा ठूलो असर पर्ने संकेत – Sagarmathapana:: Online News Portal

टिमुरेमा आएको बाढीले ३०० भन्दा बढी ईभी बगायो,अटो बजारमा ठूलो असर पर्ने संकेत

   २०८३ भाद्र १० गते  

काठमाडौं।रसुवाको टिमुरेमा बुधबार बिहान आएको आकस्मिक बाढीले चीनबाट नेपालतर्फ ल्याइँदै गरेका ३०० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी)मा क्षति पुर्‍याएको छ।

बाढीले रसुवा भन्सार कार्यालयको यार्ड नै बगाएपछि भन्सार जाँचपासको प्रतीक्षामा रहेका ठूलो संख्याका सवारीसाधन बाढीको चपेटामा परेका हुन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार यार्डमा पार्क गरिएका तथा नाका क्षेत्रमा रहेका गरी ३०० भन्दा बढी गाडी बाढीमा परेका छन्। भन्सार प्रक्रिया पूरा गरी काठमाडौं ल्याउने तयारीमा रहेका करिब ३०० ईभीसमेत बाढीमा परेको उनले बताएका छन्।

भन्सार यार्डमा ठूलो क्षति पुगेकाले बाढीमा परेका सवारीसाधनको वास्तविक अवस्था तत्काल यकिन गर्न नसकिएको कार्यालयले जनाएको छ। क्षति भएका तथा बाढीले बगाएका गाडीको संख्या र त्यसबाट भएको आर्थिक क्षतिको विवरण संकलन भइरहेको छ।

हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६, जारी नाडा अटो शो २०२६ तथा आगामी दसैँको बजारलाई लक्षित गर्दै व्यवसायीले चीनबाट ठूलो संख्यामा ईभी आयात गरिरहेका थिए। आयात गरिएका सवारीसाधन काठमाडौं ल्याउने तयारीकै क्रममा बाढीमा परेपछि आयातकर्ता तथा समग्र अटो बजारमा असर पर्ने देखिएको छ।

बाढीले भन्सार संरचना र यार्डमा रहेका सवारीसाधनमा ठूलो क्षति पुर्‍याएपछि आयातकर्ताको लगानी, बीमा दाबी र भन्सार प्रक्रियासँग सम्बन्धित विषयसमेत जटिल बन्ने देखिएको छ। क्षतिको पूर्ण विवरण आएपछि बाढीबाट अटो व्यवसायमा परेको वास्तविक असर स्पष्ट हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै