मिस एन्ड मिसेस युनिभर्सलका प्रतियोगीलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे सचेतना
काठमाडौं।नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा मिस एन्ड मिसेस युनिभर्सल २०२६ सिजन–५ का प्रतियोगीहरूलाई लक्षित गर्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

![]()

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिम अख्तरले स्तन तथा पाठेघरको मुखको क्यान्सरका कारण, जोखिमका तत्व, प्रारम्भिक लक्षण, रोकथामका उपाय तथा समयमै गरिने परीक्षण र उपचारबारे सहभागीहरूलाई जानकारी दिनुभयो।


क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक स्क्रिनिङलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। महिलामा देखिन सक्ने असामान्य स्वास्थ्य परिवर्तनलाई बेवास्ता नगर्न र शंकास्पद लक्षण देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिनसमेत सुझाव दिइएको थियो।
कार्यक्रममा मिस एन्ड मिसेस युनिभर्सल २०२६ सिजन–५ का प्रतियोगीहरू, स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष प्रेमबहादुर कार्की, सीईओ नीतु श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्यलगायतको सहभागिता थियो। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कार्यक्रम प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली तथा फोटोग्राफर रामकृष्ण गर्तौलालगायतको पनि उपस्थिति रहेको थियो।


प्रतियोगिताका सहभागीहरूले महिलाको स्वास्थ्य तथा क्यान्सरसम्बन्धी जनचेतना समाजमा फैलाउन आफूहरूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार सौन्दर्य प्रतियोगितालाई मनोरञ्जन र व्यक्तित्व प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा स्वास्थ्य सचेतनासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतिष्ठानले क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न समुदाय, संस्था तथा अभियानसँग सहकार्य गर्दै आएको जनाएको छ।













