सुस्मिता बोम्जन बनिन् मिस ग्रान्ड नेपाल सिजन–९ – Sagarmathapana:: Online News Portal

सुस्मिता बोम्जन बनिन् मिस ग्रान्ड नेपाल सिजन–९

   २०८३ भाद्र ४ गते  

काठमाडौँ।सुस्मिता बोम्जनले ‘मिस ग्रान्ड नेपाल सिजन–९’ को उपाधि जितेकी छन्। काठमाडौँस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ग्रान्ड फिनालेमा बोम्जनले प्रमुख उपाधि आफ्नो नाममा पारेकी हुन्।


उपाधिसँगै उनले नगद २५ हजार रुपैयाँ, फ्रेम गरिएको थांका कला, अन्तर्राष्ट्रिय यात्रा टिकट तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले ‘मिस ट्यालेन्ट’ को सबटाइटलसमेत जितिन्।

अरुणिमा लाम्सालले ‘मिस ग्रान्ड युनिभर्स’को उपाधि जित्दै १५ हजार रुपैयाँ नगद र थांका प्राप्त गरिन्। आयशा राउत ‘मिस ग्रान्ड अर्थ’ घोषित भइन्। उनले १० हजार रुपैयाँ नगद र थांका प्राप्त गरिन्। आयशाले ‘मोस्ट क्रिएटिभ’ र ‘मिस मल्टिमिडिया’ उपाधिसमेत जितिन्।

प्रतियोगिताको फिनाले विभिन्न जातजातिको परम्परागत पहिरनसहितको सांस्कृतिक प्रस्तुतिबाट सुरु भएको थियो। त्यसपछि सहभागीहरूले रातो ककटेल पहिरनमा प्रश्नोत्तर चरणमा सहभागिता जनाएका थिए।

अन्तिम चरणमा डिजाइनर समिक्षा लामिछानेले तयार पारेका विशेष पहिरनमा प्रतियोगीहरूले र्‍याम्पमा प्रस्तुति दिएका थिए।

आरके इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा भएको प्रतियोगिता लक्की राम केसीको अध्यक्षता र निशा आचार्यको प्रमुख कार्यकारी भूमिकामा सञ्चालन गरिएको थियो। चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले प्रतियोगिताको कोरियोग्राफी तथा होस्टिङ गरेका थिए।

प्रतियोगितामा दिप्ती झाले ‘मिस ग्रान्ड मधेश’ तथा ‘मिस ग्लामर’, सबिना सेन्चुरीले ‘मिस ग्रान्ड बागमती’, ओमकला माझीले ‘मिस ग्रान्ड कोशी’ तथा ‘फोटोजेनिक’ र ग्रिष्मा चौधरीले ‘मिस ग्रान्ड पूर्वाञ्चल’को उपाधि जिते।

फेसन, प्रतिभा, सांस्कृतिक प्रस्तुति र व्यक्तित्वलाई समेटिएको प्रतियोगिताले युवतीहरूलाई आफ्नो क्षमता, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै