नामी भिगो ई–२ सार्वजनिक, नाडा अटो शोसम्म ३५.९९ लाखमा बुकिङ खुला – Sagarmathapana:: Online News Portal

नामी भिगो ई–२ सार्वजनिक, नाडा अटो शोसम्म ३५.९९ लाखमा बुकिङ खुला

   २०८३ भाद्र ४ गते  

काठमाडौं।डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा नयाँ भिगो ई–२ सार्वजनिक गरेको हो।


कम्पनीका अनुसार भिगो ई–२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, आगामी नाडा अटो शोसम्म विशेष अफरअन्तर्गत ३५ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सकिनेछ। नाडा अटो शो आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

कार्यक्रममा एमएडब्लूका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथिल्लो श्रेणीमा राख्दै पारिवारिक प्रयोगका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याइएको बताए।

उनका अनुसार सरकारले नयाँ बजेटमार्फत ड्युटी संरचनामा गरेको परिवर्तनबाट प्राप्त मूल्य लाभ ग्राहकलाई नै हस्तान्तरण गर्ने उद्देश्यले विशेष मूल्य निर्धारण गरिएको हो। कम्पनीले ड्युटी परिवर्तनबाट आएको लाभलाई आफ्नो नाफामा राख्ने वा ग्राहकलाई दिने विषयमा छलफल गरे पनि ग्राहकलाई प्राथमिकता दिँदै मूल्य घटाइएको जनाएको छ।

चुनौतीपूर्ण भूगोलमा परीक्षण

अग्रवालले नामी भिगोले नेपालको चुनौतीपूर्ण भूगोलमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गरे। उनका अनुसार गाडी मनाङ, मुस्ताङ, सोलुखुम्बु, शुक्लाफाँटा, कालिञ्चोकलगायतका कठिन भौगोलिक क्षेत्रमा पुगिसकेको छ।

एक ग्राहकले दुई वर्षको अवधिमै ८० हजार किलोमिटरभन्दा बढी गाडी चलाएको उदाहरण दिँदै उनले भिगोको मजबुती र विश्वसनीयता पुष्टि भएको बताए।

अग्रवालले नेपाली अटोमोबाइल बजारमा ग्राहकको रोजाइसमेत परिवर्तन हुँदै गएको बताए। केही वर्षअघिसम्म ह्याचब्याक गाडी लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढिरहेको उनको भनाइ छ।

उनका अनुसार डोङफेङ नामी नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी आयातकर्ता ब्रान्डका रूपमा स्थापित भइसकेको छ र देशभर यसका २ हजारभन्दा बढी ग्राहक छन्।

ब्याट्रीको अभाव तथा विश्वव्यापी मागका कारण गाडी आपूर्तिमा केही चुनौती रहे पनि नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको अग्रवालले बताए। हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दसैंसम्म माग अझै बढ्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

५२.३ किलोवाट आवर ब्याट्री र ४३० किलोमिटर रेन्ज

भिगो ई–२ मा ५२.३ किलोवाट आवरको ब्याट्री र ९५ किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले एक पटकको चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

गाडीमा तत्काल टर्क उपलब्ध हुने भएकाले सहरी सडकसँगै उकालो–ओरालो तथा लामो दूरीको यात्रामा सहज प्रदर्शन दिने कम्पनीको भनाइ छ। भिगो ई–२ मा करिब १८५–१९० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध भएकाले कच्ची तथा चुनौतीपूर्ण सडकमा समेत चलाउन सहज हुने दाबी गरिएको छ।

यसमा ३सी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ। उपयुक्त डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

रुबिक्स क्युब डिजाइन

भिगो ई–२ को बाहिरी डिजाइनमा कम्पनीले ‘रुबिक्स क्युब’ अवधारणा प्रयोग गरेको छ। अगाडिदेखि पछाडिसम्म ज्यामितीय डिजाइनलाई प्राथमिकता दिइएको छ।

गाडीमा त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक डिजाइनका रियर भ्यु मिरर, सेमी–हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनका ह्विल दिइएका छन्। अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन र पछाडितर्फ फरक किसिमको टेललाइट डिजाइनले गाडीलाई एसयूभी स्वरूप प्रदान गरेको कम्पनीको दाबी छ।

प्रिमियम इन्टेरियर र प्रविधि

भिगो ई–२ को इन्टेरियरलाई समेत प्रिमियम अनुभव दिने गरी तयार गरिएको छ। यसमा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ।

क्याबिनमा आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधा दिइएको छ। एम्बियन्ट लाइटिङलाई संगीतसँग सिंक गर्न सकिने सुविधा पनि उपलब्ध छ।

अगाडिका सिटमा इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधा दिइएको छ, जसले लामो दूरीको यात्रामा चालक तथा यात्रुको आरामलाई प्राथमिकता दिएको देखिन्छ।

सुरक्षामा पनि जोड

भिगो ई–२ मा विभिन्न सुरक्षा तथा ड्राइभिङ असिस्ट फिचर उपलब्ध छन्। कम्पनीका अनुसार यसमा एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट, रियर पार्किङ सेन्सर र रियर क्यामरालगायतका सुविधा छन्।

नयाँ भिगो ई–२ मा ३६० डिग्री क्यामेरा तथा एडीएएस लेभल–२ जस्ता आधुनिक ड्राइभिङ असिस्ट प्रणालीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले भिगो ई–२ लाई सहरी प्रयोग, पारिवारिक यात्रा र लामो दूरीका लागि लक्षित गर्दै नेपाली बजारमा ल्याएको जनाएको छ। विशेषगरी उच्च ग्राउन्ड क्लियरेन्स, फास्ट चार्जिङ, ठूलो ब्याट्री क्षमता र एसयूभी डिजाइनका कारण नयाँ मोडलले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै