सार्वजनिक सवारीको लोकेसन अब मोबाइलमै,‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालनमा
काठमाडौँ।काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको लोकेसन मोबाइलबाटै पत्ता लगाउन सकिने गरी ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालनमा आएको छ।

![]()
‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकका अवसरमा परिषद्की अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एपको औपचारिक शुभारम्भ गरेकी हुन्।

एपमार्फत यात्रुले आफूले पर्खिरहेको सार्वजनिक सवारी साधन हाल कुन स्थानमा रहेको छ र आफ्नो गन्तव्य वा स्थानसम्म आइपुग्न कति समय लाग्छ भन्ने जानकारी लिन सक्नेछन्।
हाल एपमा जीपीएस प्रणाली जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारी साधन समेटिएका छन्। आगामी दिनमा उपत्यकामा सञ्चालन हुने थप सार्वजनिक सवारीलाई पनि प्रणालीमा जोड्दै लैजाने योजना रहेको काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित र यात्रुमैत्री बनाउन प्रविधिको प्रयोगसँगै रात्रिकालीन सेवा विस्तार तथा विद्यार्थीका लागि बिहान सबेरैदेखि यातायात सञ्चालन गर्न स्थानीय तहबीच वित्तीय साझेदारी र समन्वय आवश्यक रहेको बताइन्।














