चिकित्सा शिक्षा आयोगले ६ अर्ब ५५ करोडको बजेट स्वीकृत गर्यो
काठमाडौं।चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो।
आयोगका अनुसार आन्तरिक स्रोततर्फ चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बैठकले गत आर्थिक वर्षको असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ तथा चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँसमेत गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री र सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता थियो।












