महिला पत्रकारलाई एआई प्रविधिमा दक्ष बनाउन ‘एआई इन जर्नालिज्म’ कार्यशाला
काठमाडौं।नेपाली मिडिया क्षेत्रमा कार्यरत महिला पत्रकारहरूलाई आधुनिक प्रविधिसँग जोड्दै प्रविधिमैत्री र दक्ष बनाउने उद्देश्यले ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स’ (AI in Journalism) विषयक एकदिवसीय कार्यशाला सम्पन्न भएको छ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ, एफईजेए (FEJA) र सनवे कलेज काठमाडौंको संयुक्त आयोजनामा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यशालामा महिला सञ्चारकर्मी, मिडिया व्यवस्थापक तथा डिजिटल प्रविधि क्षेत्रका नवप्रवर्तकहरूको सहभागिता रहेको थियो।
कार्यशालामा एआई र प्रम्प्ट इन्जिनियरिङ, भ्रामक सूचना तथा डीपफेक पहिचान, डिजिटल फरेन्सिक, तथ्य जाँच, डाटा विश्लेषण, न्युजरुम अटोमेसन, अडियो–भिडियो ट्रान्सक्रिप्सन, अनुवाद तथा एआई प्रयोगका नैतिकता र डाटा सुरक्षालगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा महिला पत्रकारहरूलाई एआई तथा आधुनिक डिजिटल प्रविधिमा दक्ष बनाउँदै न्युजरुममा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउनुपर्नेमा जोड दिइयो। सहभागीहरूले प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा एआईको सही, जिम्मेवार र नैतिक प्रयोग आवश्यक रहेको बताए।
क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिको विकाससँगै बढ्दै गएको गलत सूचना र भ्रामक सूचना नियन्त्रण गर्नु आजको प्रमुख चुनौती भएको बताउँदै सूचनाको विश्वसनीयता कायम गर्न महासङ्घले निरन्तर सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सनवे कलेज काठमाडौंकी निर्देशक सिमोली देसाईले मिडियाकर्मीका लागि आगामी दिनमा पनि यस्ता प्राविधिक तालिमलाई निरन्तरता दिने बताइन्। त्यस्तै, टेक ब्लगर्स एसोसिएसन नेपालका अध्यक्षले पत्रकार, ब्लगर तथा डिजिटल सामग्री उत्पादकका लागि एआई साक्षरता अपरिहार्य बन्दै गएको उल्लेख गरे।
कार्यक्रममा क्यान महासङ्घका संस्थापक अध्यक्ष विमल कुमार शर्मा, पूर्व अध्यक्ष लोचन लाल अमात्य, टेक ब्लगर्स एसोसिएसनका महासचिव आभास अधिकारीलगायत सूचना प्रविधि तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महिला पत्रकारहरूलाई डिजिटल प्रविधिसँग जोड्दै आधुनिक न्युजरुम सञ्चालनमा सक्षम बनाउने उद्देश्यले आयोजित कार्यशालाले नेपाली मिडिया क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रविधिमैत्री र समावेशी बनाउन योगदान पुग्ने आयोजकको विश्वास छ।












