जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा भारतको गुरुग्राममा खुल्दै – Sagarmathapana:: Online News Portal

जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा भारतको गुरुग्राममा खुल्दै

   २०८३ श्रावण १३ गते  

काठमाडौं।मौलिक थकाली खानाका लागि चर्चित नेपाली रेष्टुरेन्ट ब्रान्ड जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीका अनुसार गुरुग्रामको सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा आगामी साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालनमा आउनेछ। शाखामार्फत नेपाली मौलिक थकाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य राखिएको छ।

जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तार मात्र नभई नेपाली खाना र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनको अभियानका रूपमा लिइएको बताए। भारतीय तथा अन्य देशका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उनको भनाइ छ।

नयाँ शाखाको मेनुमा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी, जिम्बु र टिमुरका परिकारसँगै चटामरी, बारा, मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरीलगायत परिकार समावेश गरिनेछ। मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिने कम्पनीले जनाएको छ।

रेष्टुरेन्टको आन्तरिक सजावटमा नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृति झल्काउने सामग्री प्रयोग गरिएको छ। आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने प्रयास गरिएको कम्पनीको भनाइ छ।

शाखामा एकपटकमा करिब ९० जनाले भोजन गर्न सक्ने क्षमता रहेको छ। सोही परिसरमा नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखासमेत सञ्चालनमा रहनेछ। रेष्टुरेन्टको व्यवस्थापन प्रणालीका लागि भारतमा समेत सेवा विस्तार गरिसकेको नेपाली सफ्टवेयर कम्पनी आईएमएस सफ्टवेयरको प्रणाली प्रयोग गरिने जनाइएको छ।


सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालमा चार शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ।

जिम्बु थकालीले नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय रेष्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित भारतबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुआत गर्न लागेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै