देवानगञ्ज घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप – Sagarmathapana:: Online News Portal

देवानगञ्ज घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

   २०८३ श्रावण १३ गते  

काठमाडौं।नेकपा एमालेले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा उत्पन्न तनावप्रति सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सरकार ‘चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन’ बनेको आरोप लगाएको छ।

एमाले महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा स्थानीय युवा ओमप्रकाश मेहताको ज्यान जाने गरी भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले विवाद समाधानका लागि समयमै संवाद र समन्वय गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्दा अवस्था थप उत्तेजित बनेको दाबी गरेका छन्।

पोखरेलले मृतक मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष एवं उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

उनले राज्यको दमनकारी रवैया तत्काल रोक्दै संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

एमालेले राष्ट्रिय एकता, भाइचारा र सामाजिक सद्भावलाई कायम राख्न देवानगञ्ज तथा सिङ्गो सुनसरी क्षेत्रका नागरिकलाई कुनै पनि प्रकारका अफवाहमा नलाग्न अपिल गरेको छ। साथै, वर्षौंदेखि कायम रहेको धार्मिक, सामाजिक तथा जातीय सद्भाव र आपसी एकतालाई अक्षुण्ण राख्न सबैसँग आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै