माइतीघर डुबानको मुख्य कारण पूर्वाधारको प्राविधिक त्रुटिदेखि जल प्रवाह क्षेत्रमा अतिक्रमणसम्म – Sagarmathapana:: Online News Portal

माइतीघर डुबानको मुख्य कारण पूर्वाधारको प्राविधिक त्रुटिदेखि जल प्रवाह क्षेत्रमा अतिक्रमणसम्म

   २०८३ श्रावण ११ गते  

काठमाडौं।काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणका क्रममा भएको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक रूपमा पानी पुनर्भरण हुने क्षेत्रको संकुचन रहेको पाइएको छ।

साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुखको नेतृत्वमा गरिएको स्थलगत अनुगमनपछि गठित प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनमा माइतीघर क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको ढल रहेको भए पनि तल्लो भागमा पुग्दा उक्त ढल ६० सेन्टिमिटरमा साँघुरिएको छ। माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’को समस्या सिर्जना भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ निकास हुन नसकी उल्टै बस्ती तथा सडकतर्फ फर्किने ‘ब्याक फ्लो’का कारण पनि माइतीघर क्षेत्र जलमग्न हुने गरेको पाइएको छ।

प्रतिवेदनले भौतिक पूर्वाधारसँगै वातावरणीय अवस्था तथा सहरी विकास र व्यवस्थापनका कमजोरीलाई पनि माइतीघर डुबानको प्रमुख कारणका रूपमा औँल्याएको छ। जल प्रवाहका प्राकृतिक मार्गमा भएको अतिक्रमण र पानी पुनर्भरण हुने क्षेत्रको संकुचनले वर्षाको पानी व्यवस्थापनमा थप समस्या सिर्जना गरेको निष्कर्ष प्रतिवेदनको छ।

महानगरपालिकाले डुबानको दीर्घकालीन समाधानका लागि ढल निकास प्रणालीको प्राविधिक सुधारसँगै जल प्रवाह क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण र प्राकृतिक पुनर्भरण क्षेत्रको संरक्षणमा समेत ध्यान दिनुपर्ने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै